चितवन वागमती प्रदेशको एक जिल्ला हो
। यस जिल्लाको केही माथिल्लो भेगमा चेपाङ जाति बस्दछन् । यस जातिको आफनै थातथलो, भाषा, संस्कृति
र आर्थिक जीवन छ । अति सीमान्तकृत आदिवासी जनजातिका रूपमा सूचीकृत भई यिनीहरूले
आफनो जातीय मौलिक पहिचान पनि बनाइसकेको छ । प्रकृतिपूजन दृष्टि, संयुक्त
परिवारको सामाजिक संरचना,
आदिम प्रकारको चालचलन यस आदि जातिको विशेषता
हो । आज यस मौलिक पहिचानमा धेरै परिवर्तन आएको छ । जमिनको स्वामित्व, नागरिकता
आदिका समस्याहरू छन् । भाषाको वक्ताहरू घटिरहेका छन् । संयुक्त परिवारमा पनि परिवर्तन
आएको छ । हिन्दूकरण र इसाईकरणले उनीहरूको समाज र संस्कृतिमा ठूलो हेरफेर ल्याएको छ
। यस जातिको विकासका लागि सरकारी र गैरसरकारी अनेक धार्मिक, सामाजिक
संस्थाहरूले अनेक योजना र कार्यक्रम ल्याएको देखिन्छ । तर उनीहरूले छोडेपछि चेपाङ
समाजको स्थितिमा कुनै सुधार नभई झन् बिग्रिएको पाइन्छ । ती संस्थाहरूले विकासका
सपनाहरू त बाँडे तर यस जातिलाई आत्मनिर्भर बनाउन सकेनन् । सीप कौशल सिकाएनन् । यस
जातिको मौलिक रूचि र क्षमतालाई वास्ता नगरी संस्थाहरूले आफना अभीष्ट सिद्धि
प्राप्ति गर्न मात्र लागेका देखिन्छन् । यसकारण आज पनि चेपाङ जातिको जीवन
सङ्क्रमणबाट गुज्रिरहेको छ । उनीहरू न हिजोको मौलिक पहिचानमा छन् न आजको विकासबाट
लाभान्वित छन् । जातीय विद्वषका भावनाबाट भन्दा पनि जातीय जागरणका चेतनाबाट नै
उनीहरूको उत्थान सम्भव हुन्छ । धर्मान्तरणले जातीय उत्थान हुन सक्तैन । यो कुरो
बुझाउनु पर्नेछ र यसजातिको विकास र समुन्नत भविष्यका निम्ति नेपाल सरकारले नै
दायित्व लिनुको अर्को विकल्प छैन ।
Leave Your Comment