FAQ - Frequently Asked Questions

226 3

परीक्षाको तयारी गर्नका लागि संरचित योजना, अनुशासन र सही रणनीति आवश्यक हुन्छ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नु एक योजनाबद्ध र धैर्यपूर्वक गरिने प्रक्रिया हो। तपाईंले अबलम्बन गर्न सक्ने चरणबद्ध मार्गदर्शन यहाँ दिइएको छ: (Preparing for a competitive exam requires a structured plan, discipline, and the right strategies. To prepare for a competitive exam, the process is planned and requires patience. Here’s a step-by-step guide you can follow J)

१. परीक्षाको ढाँचा र पाठ्यक्रम बुझ्ने (Understand the Exam Pattern & Syllabus)

कुनै पनि परीक्षाको तयारीको पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरण भनेको पाठ्यक्रम (syllabus) राम्रोसँग बुझ्नु हो। लोकसेवा आयोगको वेबसाइटमा हरेक पदको लागि पाठ्यक्रम उपलब्ध हुन्छ। यसलाई डाउनलोड गरेर प्रिन्ट गर्नुहोस्। पाठ्यक्रममा दिइएका प्रत्येक शीर्षक र उप-शीर्षकलाई ध्यानपूर्वक हेर्नुहोस्। यसले तपाईंलाई कुन विषयमा बढी जोड दिनुपर्छ भन्ने स्पष्ट मार्गनिर्देशन दिन्छ।

  • आधिकारिक पाठ्यक्रम राम्रोसँग पढ्ने र अघिल्ला वर्षका प्रश्नपत्र हेर्ने। (Go through the official syllabus and previous question papers.)
  • महत्वपूर्ण शिर्षकहरुको सूची तयार पार्नुहोस् (Make a list of important topics.)
  • कुन विषय कति अंकको हुन्छ भन्ने पत्ता लगाउने।(Identify subjects, weightage, and types of questions (MCQs, subjective, essay, etc.)

२. यथार्थपरक अध्ययन योजना बनाउने (Create a Realistic Study Plan)/ प्रभावकारी समय व्यवस्थापन

एउटा सुव्यवस्थित समयतालिका (study schedule) बनाएर पढ्दा समयको सदुपयोग हुन्छ। विषयगत विभाजन गरी तपाईंले आफ्नो समयलाई सामान्य ज्ञान, बौद्धिक परीक्षण (IQ), विषयगत ज्ञान र समसामयिक घटनाहरूमा विभाजन गर्न सक्नुहुन्छ। दैनिक तालिकारुपमा बिहान छिट्टै उठेर पढ्ने वा राति अबेरसम्म पढ्ने भन्ने निर्णय तपाईंको व्यक्तिगत बानीमा निर्भर हुन्छ। तपाईंलाई जुन समयमा बढी ध्यान केन्द्रित गर्न सकिन्छ, त्यही समयलाई पढाइको लागि छुट्याउनुहोस्। नियमिततामा ध्यान दिदै दैनिक कम्तीमा ४-५ घण्टा नियमित रूपमा पढ्ने बानी बसाल्नुहोस्। एकैचोटि धेरै पढ्नुभन्दा थोरै-थोरै तर नियमित रूपमा पढ्नु बढी प्रभावकारी हुन्छ।

·       पाठ्यक्रमलाई दैनिक/साप्ताहिक लक्ष्यमा बाँड्ने।(Break the syllabus into daily/weekly targets.)

·       कमजोर विषयमा बढी समय दिने।(Allocate more time to weak subjects.)

  • प्रत्येक दिन सानो–सानो पुनरावृत्ति गर्ने। (Keep short revision slots daily instead of cramming at the end.)

३. अध्ययन सामग्रीको उचित छनोट (Collect the Right Resources)

तयारीको लागि सही सामग्री छनोट गर्नु निकै महत्त्वपूर्ण हुन्छ। बजारमा धेरै पुस्तकहरू र गाइडहरू उपलब्ध छन्, तर सबै उपयोगी नहुन सक्छन्। आधारभूत पुस्तकहरू जस्तै सामान्य ज्ञानका लागि नेपालको भूगोल, इतिहास, संस्कृति र वर्तमान घटनाक्रमसम्बन्धी आधिकारिक र विश्वसनीय पुस्तकहरू पढ्नुहोस्। विषयगत पुस्तकहरू जस्तै तपाईंले तयारी गरिरहनुभएको पदसँग सम्बन्धित विषयगत ज्ञानका लागि विश्वविद्यालय तहका पाठ्यपुस्तकहरू वा विशेषज्ञहरूले लेखेका पुस्तकहरू पढ्नु राम्रो हुन्छ। दैनिक समाचारपत्र  जस्तै: गोरखापत्र, कान्तिपुर र 'मासिक पत्रिका जस्तै: गोरखापत्र ज्ञानमाला नियमित रूपमा पढ्नुहोस्। यसले तपाईंको करन्ट अफेयर्स (current affairs) र सामान्य ज्ञानलाई अद्यावधिक राख्न मद्दत गर्छ।

 

·       मानक पाठ्यपुस्तक र संदर्भ सामग्री।(Standard textbooks and reference materials.)

·       कोचिङ नोट्स (यदि उपलब्ध छ भने)।(Coaching notes (if available))

·       पुराना प्रश्नपत्र र मोक टेस्ट सिरिज।(Previous year’s question papers and mock test series.)


४. सक्रिय अध्ययन विधि अपनाउने (Active Learning Methods )

  • छोटकरी नोट, चार्ट वा माइन्ड–म्याप बनाउने (Make short notes, charts, or mind maps.)
  • MCQs र वर्णनात्मक प्रश्न अभ्यास गर्ने (Practice MCQs and descriptive answers.)
  • अरूलाई पढाइदिने – यसले राम्रोसँग सम्झन मद्दत गर्छ (Teach the concept to someone else—it boosts retention.)

५. पुनरावृत्ति रणनीति (Revision Strategy )

पढेका कुराहरूलाई समय-समयमा दोहोर्याउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। पढ्दै गर्दा महत्त्वपूर्ण बुँदाहरू, सूत्रहरू र मितिहरूलाई छोटो नोट बनाएर राख्नुहोस्। परीक्षाअघि यसले तपाईंलाई छिटो पुनरावृत्ति गर्न मद्दत गर्छ।  हरेक हप्ताको अन्त्यमा त्यो हप्ताभरि पढेका कुराहरूलाई दोहोर्याउने बानी बसाल्नुहोस्। जस्तो कि

 

  • १–२–३ नियम पालना गर्ने(Follow the 1-2-3 rule):
    • २४ घण्टाभित्र एक पटक पुनरावृत्ति(Revise within 24 hours),
    • १ हप्तापछि पुनरावृत्ति(Revise again after 1 week),
    • १ महिनापछि पुनरावृत्ति (Revise after 1 month)
  • सूत्र, परिभाषा, तथ्यका लागि छुट्टै "revision notebook" बनाउने (Keep a revision notebook for formulas, definitions, or key facts.)

६. मोक टेस्ट र अघिल्ला प्रश्नपत्र अभ्यास गर्ने (Mock Tests & Previous Papers)

लोकसेवाको लिखित परीक्षामा राम्रो अङ्क ल्याउन लेखन अभ्यास (writing practice) अनिवार्य छ। प्रश्नको प्रकृतिअनुसार उत्तर कसरी लेख्ने भन्ने उत्तरको ढाँचा अभ्यास गर्नुहोस्। उत्तरमा भूमिका, मुख्य भाग र निष्कर्ष हुनुपर्छ। समय व्यवस्थापन हुने गरी प्रत्येक प्रश्नलाई तोकिएको समयभित्र हल गर्ने अभ्यास गर्नुहोस्। यसका लागि पुरानो प्रश्नपत्रहरू लिएर समय सीमाभित्र हल गर्ने प्रयास गर्नुहोस्। उत्तर लेख्दा सफाई र प्रस्तुतिमा ध्यान दिई अक्षर सफा र बुझ्ने गरी लेख्नुपर्छ। अनावश्यक कुराहरू लेख्नुभन्दा महत्त्वपूर्ण बुँदाहरूलाई मात्र समेट्नुहोस्।

 

  • परीक्षाजस्तै वातावरणमा समय मिलाएर अभ्यास गर्ने।(Practice in exam-like conditions with a timer.)
  • गल्ती कहाँ भयो भनेर विश्लेषण गर्ने।(Analyse mistakes and improve weak areas.)
  • समय व्यवस्थापन सिक्ने (पहिले सजिलो प्रश्न, गाह्रोलाई पछि)(Learn time management (which questions to attempt first, skipping time-consuming ones).

७. सामान्य सीप सुधार गर्ने (Improve General Skills)

  • सामान्य ज्ञान/समसामयिकका लागि: दैनिक समाचारपत्र पढ्ने, मासिक पत्रिका प्रयोग गर्ने।(For GK/Current Affairs exams: Read newspapers daily, use monthly magazines.)
  • गणित/तर्कशक्ति (Aptitude) का लागि: दैनिक अभ्यास गर्ने (For aptitude exams: Practice daily for reasoning, mathematics, data interpretation.)
  • वर्णनात्मक परीक्षाका लागि: निबन्ध लेखन, छोटकरी उत्तर र द्रुत लेखन अभ्यास गर्ने। (For descriptive exams: Practice essay writing, precise answers, and handwriting speed.)

८. स्वास्थ्य र अनुशासनमा ध्यान दिने (Maintain Health & Discipline)

लामो समयसम्मको तयारीले तनाव र थकान निम्त्याउन सक्छ। त्यसैले, आफ्नो स्वास्थ्यमा ध्यान दिनु उत्तिकै जरुरी छ।

  • दैनिक ६–७ घण्टा निद्रा लिने (Sleep at least 6–7 hours.)
  • सन्तुलित खाना खाने (जङ्क फुड कम गर्ने) (Eat balanced food (avoid junk that makes you sluggish))
  • हल्का व्यायाम वा ध्यान गर्ने – तनाव घटाउन मद्दत गर्छ। (Do light exercise or meditation to stay stress-free.) हरेक दिन केही समय विश्राम र हल्का व्यायाम (जस्तै: हिँड्ने, योग गर्ने) का लागि छुट्याउनुहोस्।

९. नियमितता र प्रेरणा कायम गर्ने (Stay Consistent & Motivated )

  • अरूसँग तुलना नगरी आफ्नै प्रगति ट्र्याक गर्ने।(Don’t compare with others; track your own progress.)
  • सानो–सानो लक्ष्य पुरा गरेर आत्मविश्वास बढाउने। (Set small milestones and reward yourself.)
  • सकारात्मक सोच राख्ने, अनावश्यक विचलनबाट टाढा रहने।(Surround yourself with positive people and avoid distractions.)


यी सबै कुराहरूलाई ध्यानमा राखेर तयारी गर्नुभयो भने तपाईंको सफलताको सम्भावना धेरै हुन्छ।


 

नेपालको संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त  हुनेछन् भन्ने उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा २४३ मा आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छ : 
(१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुनेछ ।
स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि "निजामती सेवाको पद" भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ ।  
(२) निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।  
स्पष्टीकरण : यस धाराको प्रयोजनका लागि "संगठित संस्था" भन्नाले विश्वविद्यालय र शिक्षक सेवा आयोग बाहेकका पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक, समिति वा संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद र यस्तै प्रकृतिका अन्य संगठित संस्था सम्झनु पर्छ । 
(३) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ । 
(४) कुनै  संगठित संस्थाको सेवाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ । 
(५) नेपाल सरकारबाट निवृत्तिभरण पाउने पदमा लोक सेवा आयोगको परामर्श विना स्थायी नियुक्ति गरिने छैन । 
(६) देहायका विषयमा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ :– 
   (क)  संघीय निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,
   (ख)  संघीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा, 
   (ग)  संघीय निजामती सेवाको पदमा छ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उमेदवारको उपयुक्तताको विषयमा, 
   (घ)  कुनै एक प्रकारको संघीय निजामती सेवाको पदबाट अर्को प्रकारको संघीय निजामती सेवाको पदमा वा अन्य सरकारी सेवाबाट संघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा वा कुनै प्रदेशको निजामती सेवाको पदबाट संघीय निजामती सेवाको पदमा वा संघीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा उमेदवारको उपयुक्तताको विषयमा, 
   (ङ)  लोक सेवा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई लोक सेवा आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा, र 
   (च)  संघीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायको  विषयमा ।
(७) उपधारा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि धारा १५४ बमोजिमको न्याय सेवा आयोगको अधिकार क्षेत्रभित्र पर्ने विषयमा सोही बमोजिम हुनेछ ।
(८) लोक सेवा आयोगले आफ्नो काम, कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य र अधिकार आयोगको अध्यक्ष वा कुनै सदस्य वा नेपाल सरकारको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ । 
(९) लोक सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार संघीय कानून बमोजिम हुनेछ । 


नेपालको संविधानले लोक सेवा आयोगको संघीय र प्रादेशिक स्वरुपको व्यवस्था गरेको छ । जस अनुसार नेपालको संविधानको धारा २४२ मा नेपालमा लोक सेवा आयोग रहनेछ भन्ने व्यवस्था रहेको छ । त्यसै गरी धारा २४४ ले प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने प्रावधान राखेको छ । प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संघीय संसदले कानून बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ भनी मार्ग निर्देश गरेको छ । यसरी संघीय संसदले बनाएको कानूनले निर्धारण गरेको आधारभूत मूल्य, मान्यता, पद्धति, सामान्य सिद्धान्त लगायतको परिधिभित्र रही प्रदेश लोक सेवा आयोगले आफ्नो कार्यक्षेत्रभित्रका कार्यहरु स्वायत्त रुपमा सम्पादन गर्ने परिकल्पना वर्तमान संविधानले गरेको छ । संघीयताको कार्यान्वयनको चरण सँगसँगै यी कानून, नीति र संरचनाहरु क्रमिक रुपले स्थापित हुने छन् । 

नेपालको संविधानमा भएको प्रावधान अनुसार देहायका निकायहरुमा रिक्त रहेका पदहरुमा लोक सेवा आयोगले लिखित परीक्षा सञ्चालन गर्दछ । 
  • निजामती सेवाका पदहरु 
  • नेपाली सेना
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी बल, नेपाल
  • संघीय सरकारी सेवाका पदहरु
  • संघीय कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र यस्तै प्रकृतिका अन्य संगठित संस्थाहरु
  • नेपाल सरकारको पचास प्रतिशत वा सो भन्दा बढी शेयर वा जायजेथामा नियन्त्रण भएको संस्थान, कम्पनी, बैंक तथा समितिहरु


आयोगले हरेक आर्थिक वर्षमा गरेका कार्यहरुको विवरण समावेश गरी तयार गरिने प्रतिवेदन÷पुस्तिका नै आयोगको वार्षिक प्रतिवेदन हो । नेपालको संविधानले संवैधानिक निकायको वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरु संघीय कानून बमोजिम हुने व्यवस्था गरेको छ । हालसम्म आयोगका वार्षिक प्रतिवेदनमा देहायका विषयवस्तुहरु समावेश गर्ने गरिएको छ :
 
  • लोक सेवा आयोगले वर्षभरीमा उम्मेदवार छनौट गर्न लिएको परीक्षाको विवरण,
  • सो परीक्षामा उत्तीर्ण परीक्षार्थी सम्बन्धी विवरण, 
  • विभिन्न निकायलाई परामर्श दिएको विवरण, 
  • निजामती कर्मचारीलाई विभागीय कारवाही र सजाय गर्दा दिएको परामर्शको विवरण 
  • परामर्श बमोजिमको काम भए नभएको विवरण, 
  • कुनै सरकारी सेवाको पदको नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको बारेमा परामर्श दिएको भए सो विवरण र भविष्यमा निजामती सेवाको विषयमा गर्नुपर्ने सुधारका विवरण 
  • अन्य कुराहरु


नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकरणमा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ भनी उल्लेख गरिएको छ साथै निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठन भएका सेवालाई निजामती सेवा भनिन्छ । ती सेवाहरु निम्नानुसार छन् :–
 
  • नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
  • नेपाल कृषि सेवा
  • नेपाल परराष्ट्र सेवा
  • नेपाल लेखापरीक्षण सेवा
  • नेपाल विविध सेवा
  • नेपाल इञ्जिनियरिङ्ग सेवा
  • नेपाल न्याय सेवा
  • नेपाल प्रशासन सेवा
  • नेपाल वन सेवा
  • नेपाल शिक्षा सेवा
 
सोही ऐनको दफा १६(३) अनुसार परीक्षण काल र दफा १० को उम्मेदवार हुनको लागि अयोग्यताको खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (३) को प्रयोजनको लागि “निजामती सेवा भन्नाले संसद सेवा र नेपाल स्वास्थ्य सेवा समेतलाई बुझाउँदछ” भन्ने व्यवस्था रहेको छ ।


सेवा सम्बन्धित ऐन, नियमावलीमा व्यवस्था भए अनुसार निजामती सेवामा पदपूर्ति मुख्यतः दुई आधारमा गरिन्छः खुला प्रतियोगिता र बढुवाद्वारा । 
(क)खुला प्रतियोगिता : सार्वजनिक रुपमा विज्ञापन आह्वान गरी सेवा प्रवेश गर्न इच्छुक र योग्य उम्मेदवारहरुलाई खुला तथा समावेशी आधारमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने व्यवस्था खुला प्रतियोगिता हो । 
(ख)बढुवा : बढुवा भन्नाले सेवा, समूहभित्र निकटतम तल्लो पदमा कार्यरत कर्मचारीहरुमध्येबाट नै प्रतियोगितात्मक लिखित परीक्षा एवं सेवा, समूहसँग सम्बन्धित ऐन, नियमावलीमा व्यवस्था भएबमोजिमका आधारहरु बमोजिम कार्यक्षमता,ज्येष्ठता र कार्यसम्पादन तथा अनुभव आदिको आधारमा पदपूर्ति हुने व्यवस्था हो । यस अन्तर्गत देहायका आधारहरु उल्लेख गरिएका छन् :–
(अ)आन्तरिक प्रतियोगिता : एउटै सेवा, समूह भित्रका, निकटतम तल्लो पदमा सेवारत कर्मचारीहरुमात्र उम्मेदवार हुन पाउने गरी विज्ञापन आह्वान गरी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने व्यवस्था नै आन्तरिक प्रतियोगिता हो । खुला र आन्तरिक प्रतियोगिताद्वारा पूर्ति हुने पदहरुमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने गर्दछ ।
(आ)ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन : सम्बन्धित सेवा समूह भित्र सेवारत कर्मचारीहरुको सेवा अवधि तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा फाइल बढुवाद्वारा पदपूर्ति हुने व्यवस्था नै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा हो ।
(इ)कार्यक्षमताको मूल्याङ्कन : सम्बन्धित सेवा समूह भित्र सेवारत कर्मचारीहरुको कार्यसम्पादन सम्वद्ध कार्यक्षमताको मूल्याङ्कनको आधारमा फाइल बढुवाद्वारा पदपूर्ति हुने व्यवस्था नै कार्यक्षमताको मूल्याङ्कनका आधारमा हुने बढुवा हो ।
(ई)कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने समायोजनद्वारा : सेवाभित्र कार्यरत कर्मचारीहरुबाट शैक्षिक योग्यता, अनुभव, लगायतका विभिन्न आधारमा गरिने बढुवा यस अन्तर्गत पर्दछ ।
 
उपरोक्तानुसार उल्लेख गरिएका आधारहरुमा निजामती सेवा ऐन, २०४९ अनुसार निजामती सेवाको पदहरुमा खुला र बढुवातर्फ कार्यक्षमताको मूल्याङ्कनद्वारा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा पदपूर्ति गरिन्छ । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार स्वास्थ्य सेवाका पदहरुमा र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन २०६४, अनुसार व्यवस्थापिका संसद सेवाका पदहरुमा खुला र बढुवातर्फ कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगितात्मक परीक्षा तथा कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा पदपूर्ति गरिन्छ ।


लोक सेवा आयोगले गर्ने नियमित कार्यहरु माग संकलन, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, लिखित परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा प्रकाशन, अन्तर्वार्ता तथा सिफारिश र सोसँग सम्बन्धित कार्यहरु तथा लोक सेवा आयोगका निर्णयहरु, प्रकाशनहरु, FAQ लगायतका सूचनाहरुका सम्बन्धमा निम्न माध्यमबाट जानकारी प्राप्त गर्न सकिन्छ । 
  • लोक सेवा आयोगको Website: www.psc.gov.np
  • लोक सेवा आयोगबाट साप्ताहिक रुपमा प्रकाशन हुने बुलेटिन,
  • गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको हरेक बुधबारका अंकहरु तथा अन्य दिनका अंकहरुमा समेत विशेष सूचनाको रुपमा छपाइ भएका लोक सेवा आयोगका सूचनाहरु,
  • लोक सेवा आयोगबाट त्रैमासिक रुपमा प्रकाशन हुन समाचारपत्र,
  • रेडियो नेपालबाट हरेक बुधबार राती ९ः०० बजेको समाचारपछि ९.१५ मा प्रशारण हुने लोक सेवा आयोगको सूचना,
  • आयोगको केन्द्रीय कार्यालयमा रहने प्रवक्ता तथा सहायक प्रवक्ता,
  • सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सूचना प्राप्त गर्न केन्द्रीय कार्यालय, क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा दरखास्त व्यवस्थापन केन्द्रका सूचना अधिकारीहरु ।


उम्मेदवारहरुको उमेरको गणना सेवागत रुपमा फरक फरक हुने भएकोले संक्षेपमा देहायबमोजिम उल्लेख गरिएको छ । 
१) निजामती सेवा र व्यवस्थापिका संसद सेवा तर्फ
    दरखास्त दिनको लागि सम्भाव्य उमेर गणनाः (खुलातर्फ)
          (क) राजपत्र अनंकित श्रेणी र श्रेणीविहीन तर्फका पद (जस्तैः खरिदार, नायब सुब्बा वा सो सरह)
                 दरखास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको)
          (ख) राजपत्रांकित तर्फका पद (जस्तैः शाखा अधिकृत, उपसचिव र सहसचिव वा सो सरह)
                 दरखास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको) तर उपसचिव र सहसचिवको पदका लागि                                      खुलातर्फको हकमा अधिकतम उमेरको हद ४५ वर्ष तोकिएको छ ।
२) स्वास्थ्य सेवा तर्फ : सहायकस्तरका पद (तह ४ र ५) को लागि न्यूनतम १८ वर्ष र अधिकतम ४५ वर्ष तोकिएको छ भने अधिकृतस्तरका पद (तह ६ देखि माथि) को लागि न्यूनतम २१ वर्ष र               अधिकतम ४५ वर्ष तोकिएको छ ।
 
निजामती सेवा, व्यवस्थापिका संसद सेवा तथा स्वास्थ्य सेवामा स्थायी बहालवाला कर्मचारीको हकमा उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ । यस्ता कर्मचारीले दरखास्तसाथ आफू स्थायी रुपमा कार्यरत रहेकोे प्रमाण पुग्ने कागजात पेश गर्नु पर्दछ । दरखास्त फाराममा पनि सो सम्बन्धी विवरण भरी सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराउनु पर्दछ ।


निजामती सेवा ऐन, २०४९ को (चौंथो संशोधन समेत) को दफा ४९क(१) मा निजामती कर्मचारीले अन्यत्र नोकरी वा सेवा गर्न नहुने सम्बन्धमा निजामती कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन भन्ने व्यवस्था गरिएको छ । 
सोही दफाको उपदफा (२) मा निजामती कर्मचारीले गर्दा बाधा नपुग्ने देहायका विषयहरुको व्यवस्था गरिएको छ : 
(क) आफ्नो पदीय कर्तव्य पालनाको वा अधिकार प्राप्त अधिकारीले तोकेको वा लगाएको कार्य गर्दाको सिलसिलामा कसैलाई सेवा प्रदान गर्न, 
(ख) प्रचलित कानून बमोजिम अध्ययन विदा लिई स्वदेशी वा विदेशी शैक्षिक संस्थामा अध्ययन गर्दाको बखत सम्बन्धित शैक्षिक संस्थामा कुनै सेवा पुर्याउन वा त्यस्तो संस्थाले लगाएको कुनै कार्य गर्न, 
(ग) राष्ट्रिय वा अन्तर्राष्ट्रिय शैक्षिक, प्राज्ञिक वा अनुसन्धानमूलक संघसंस्था वा नेपाल सदस्य राष्ट्र रहेको क्षेत्रीय वा अन्तर्राष्ट्रिय संघसंस्थाको सेवा सम्बन्धित सेवा, समूह, उपसमूहको लागि उपयोगी हुने देखी अख्तियारवालाले बिदा वा काज स्वीकृत गरेकोमा सम्बन्धित निकायमा सेवा गर्न, 
(घ) अख्तियारवालाको स्वीकृति लिई नेपाल सरकारको नीति विपरीत नहुने गरी स्वदेश वा विदेशस्थित कार्यक्रममा सहभागी हुन, प्रवचन दिन वा कार्यपत्र प्रस्तुत गर्न, 
(ङ) अख्तियारवालाको पूर्व स्वीकृति लिई कार्यालय समय बाहेकको समयमा शैक्षिक, प्राज्ञिक वा प्रशिक्षण संस्थामा प्रशिक्षण वा अनुसन्धान गर्न, 
(च) नेपाल सरकारद्धारा सञ्चालित वा नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको प्रशिक्षण संस्थामा कार्यालयको काममा वाधा नपर्ने गरि प्रशिक्षण सम्वन्धि कार्य वा अनुसन्धान गर्न, 
(छ) कार्यालयको काममा वाधा नपर्ने गरी मानव कल्याण, परोपकार वा सामाजिक भलाईका लागि सेवा पुर्याउन , 
(ज) आर्थिक लाभ वा कुनै सुविधा नलिने, कार्यालयको काममा बाधा नपर्ने र नेपाल सरकारको अहित नहुने गरी आफ्नो पेशागत संगठन वा अन्य कुनै सामाजिक संस्थामा आबद्ध हुन (स्पष्टीकरण खण्डमा यस खण्डको प्रयोजनको लागि "सामाजिक संस्था" भन्नाले सामाजिक आवश्यकता पूरा गर्ने सिलसिलामा परम्परा देखी समुदायमा आधारित भई समाजमा क्रियाशिल रहेका सामाजिक संघ संस्था सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम दर्ता भएका साहित्य, कला, संस्कृति, खेलकुद, संगीत, विज्ञान, धर्म वा यस्तै अन्य कुनै विधा वा क्षेत्रसँग सम्बन्धित संस्थालाई समेत जनाउँछ भन्ने उल्लेख छ) साथै लोक सेवा आयोग वा सार्वजनिक निकायबाट पदपुर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको प्रकृयामा संलग्न हुने कर्मचारीले त्यस्तो प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन र त्यस्तो प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिएको व्यक्तिले त्यसपछि एकबर्ष सम्म सञ्चालन हुने त्यस्तो परीक्षाको प्रकृयामा संलग्न हुन पाँउने छैन भन्ने समेत व्यवस्था गरिएको छ ।


आयोगबाट वार्षिक कार्यतालिकामा निर्धारण भए बमोजिमका आधारमा विभिन्न श्रेणी÷तह, सेवा, समूह, उपसमूहका पदका लागि विज्ञापन प्रकाशन गर्ने गरिन्छ । यसरी प्रकाशित भएका विज्ञापनका विषयमा दरखास्त दिने उम्मेदवारहरुले पर्याप्त जानकारी राख्ने र विज्ञापनमा उल्लेखित विषयलाई गहन तवरले आद्योपान्त अध्ययन गर्नु अत्यावश्यक हुन्छ ।  दरखास्त पेश गर्नुपूर्व ध्यान पु¥याउनु पर्ने मुख्य मुख्य विषयहरु देहायअनुसार छन् :
  • सर्वप्रथम दरखास्त दिने सम्बन्धमा कुन पदको विज्ञापन कुन समयमा हुन्छ भन्ने विषयमा जानकारी राख्ने । यस्तो जानकारी आयोगको धभदकष्तभस् धधध।उकअ।नयख।लउ मा रहेको वार्षिक कार्यतालिकाबाट पाउन सकिन्छ । कार्यतालिका स्वीकृत भएपछि आर्थिक वर्षको शुरु महिनामै गोरखापत्रमा पनि प्रकाशित गरिन्छ । साथै आयोगबाट हुने प्रकाशनहरुमा पनि समावेश गरिएको हुन्छ ।
  • विज्ञापन खुलेपछि विज्ञापनमा उल्लेखित देहायका विवरणलाई सुक्ष्म रुपमा अध्ययन गर्नुपर्दछ ः
  • दरखास्त दिनको लागि न्यूनतम÷अधिकतम उमेरहद र उमेरहद नलाग्ने भएमा के कस्तो आधार हो ।
  • निर्धारित सेवा समूह, उपसमूह, श्रेणीलाई आवश्यक शैक्षिक योग्यता (न्यूनतम, अधिकतम) ।
  • विशेष योग्यता (कुनै विशेष विषयको आवश्यकता, अनुभव चाहिने÷नचाहिने) ।
  • दरखास्त दिन पाउने (शुरु, अन्तिम र दोब्बर दस्तुर सहितको) मिति 
  • परीक्षा मिति र समय
  • परीक्षा केन्द्र
  • परीक्षाका लागि आवश्यक दस्तुर
  • पाठ्यक्रम
  • दरखास्त पेश गर्ने स्थान
  • खुलेको विज्ञापनमा कुन कुन स्थानबाट दरखास्त फाराम भर्न सकिन्छ
  • आफूले दरखास्त दिने विज्ञापन, सेवा समूहका हकमा आवश्यक पर्ने कागजातहरु के के हुन निक्र्यौल गरी सो को व्यवस्थापन गर्ने ।
  • विज्ञापन÷सूचनामा आफू उम्मेदवार हुनका लागि कुनै विशेष कागजात आवश्यक पर्छ÷पर्दैन ?  जस्तै : समावेशी समूहमा आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र आदि स्पष्ट हुने आधारहरु, आवश्यक पर्ने अन्य कुनै सिफारिशहरु ।
  • प्रकाशित विज्ञापनमा दिएका सूचनाहरु विशेष अवस्थामा विचविचमा परिवर्तन समेत हुन सक्ने भएकाले दरखास्त फाराम भरिसकेपछि पनि आयोगको वेवसाइट, प्रकाशन एवं आयोगबाट सूचना प्रकाशन हुने अन्य माध्यमहरु समय–समयमा हेरी सूचित हुनुपर्दछ ।


संयुक्त र एकीकृत परीक्षा प्रणाली तथा एउटै प्रश्नपत्रबाट लिखित परीक्षा सञ्चालन हुने पदहरुमा एकैसाथ खुला, समावेशी लगायत धेरै पदमा सफल उम्मेदवारको एकपटक मात्र सीप परीक्षण तथा अन्तर्वार्ता लिनुको कारण के हुन सक्छ ?

 
संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत सो पदसँग सम्वद्ध विभिन्न सेवा, समूह, उपसमूहका उम्मेदवारको लिखित परीक्षा पनि एकै पटक लिइएको हुन्छ । खुला एवं विभिन्न समावेशी समूहमा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट हुने उम्मेदवारहरु अलग अलग समूहको लागि छुट्टाछुट्टै सीप परीक्षण र अन्तर्वार्ता लिँदा एक वा एकभन्दा बढी विज्ञापनका समूहमा छनौट भएका उम्मेदवारलाई पटक पटक एउटै विषयमा अन्तर्वार्ता दिनु पट्यारलाग्दो हुन सक्दछ र पटकपटक लिनु श्रम, समय, लागत लगायतका दृष्टिकोणबाट पनि उपयुक्त हुँदैनन् । त्यसैले एक पटक लिखित परीक्षा भएकोमा एउटै उम्मेदवार एकभन्दा बढी (खुला तथा समावेशी) समूहमा लिखित परीक्षामा सफल भएको खण्डमा निजको सीप परीक्षण र अन्तर्वार्ता एकपटक मात्र लिने र सो वापत प्राप्त अंकलाई निज सफल भएको प्रत्येक समूह (खुला तथा समावेशी) मा राखी गणना गरी योग्यताक्रम कायम गर्ने गरी आयोगबाट निर्णय भई कार्यान्वयनमा आएको हो ।


आयोगबाट संचालन हुने परीक्षाहरुमा सामान्यतया दुई सयजना परीक्षार्थी भएमा एक परीक्षा केन्द्र कायम गरिन्छ । एउटै परीक्षा भवनमा यस्ता २–३ वटा केन्द्र पनि रहन सक्दछन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा संचालनको लागि १ जना केन्द्राध्यक्ष निजको सहयोग र समन्वयको लागि १ जना उपकेन्द्राध्यक्ष, सबै प्रश्नको उत्तर एउटै उत्तरपुस्तिकामा दिनुपर्ने परीक्षामा सामान्यतया तीस जनासम्म उमेदवारहरुका लागि एकजना सहायक केन्द्राध्यक्ष तथा प्रश्नको अलग अलग उत्तरपुस्तिका रहने लिखित परीक्षाको लागि पच्चिस जनासम्म परीक्षार्थीका लागि एकजना सहायक केन्द्राध्यक्ष र १५ जनासम्म उमेदवारका लागि एकजना निरीक्षक, परीक्षा संचालनमा परीक्षार्थीलाई कोठा देखाउने, पिउने पानी उपलब्ध गराउने लगायतका कार्यहरु गर्नका लागि २ जना सहयोगी, परीक्षा व्यवस्थापनमा परीक्षा केन्द्र तथा केन्द्राध्यक्षसँग समन्वय गर्न समन्वयकर्ता १ र निजलाई सहयोग गर्न सहयोगी १ खटाईएको हुन्छ । परीक्षा सञ्चालन गर्ने केन्द्राध्यक्ष सम्बन्धित परीक्षा दिने श्रेणी÷पद भन्दा १ तह माथिको अधिकृतस्तर हुनुपर्ने व्यवस्था रहेको र यस्ता कर्मचारीहरु खटाउँदा आयोगले सकेसम्म आयोगभित्रका कर्मचारीहरुबाट र आयोगका कर्मचारीहरुबाट नपुग भएको खण्डमा अन्यत्र निकायबाट पनि खटाउन सकिन्छ । 
परीक्षा केन्द्रमा सञ्चालित परीक्षाहरु के–कसरी सञ्चालन भएका छन् सो को व्यवस्थापकीय पक्षहरु, परीक्षा केन्द्रमा सहजता, असहजता लगायतका विषयमा सुपरिवेक्षण गर्ने प्रयोजनका लागि परीक्षा केन्द्र अनुसार एकजना सुपरिवेक्षक तोकिएको हुन्छ । त्यस्तैगरी परीक्षा व्यवस्थापनका लागि एकजना परीक्षा नियन्त्रक तोकिएको हुन्छ । 


आयोगको परीक्षामा खटिने सुपरीवेक्षकदेखि परीक्षा नियन्त्रक, केन्द्राध्यक्ष, उपकेन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, समन्वयकर्ता, निरीक्षक आदिको लागि परीक्षा संचालनका क्रममा गर्नुपर्ने काम, कर्तव्य र अधिकारको लागि लोक सेवा आयोग (कार्यसञ्चालन) निर्देशिका, २०६७ को परिच्छेद–६, लिखित परीक्षा सम्बन्धी व्यवस्था अन्तर्गत देहायका दफाहरुमा व्यवस्था गरिएको छ । 
दफा ३२ ख सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार 
दफा ३३ परीक्षा नियन्त्रककको काम, कर्तव्य र अधिकार 
दफा ३४ केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार
दफा ३५ उपकेन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार 
दफा ३६ सहायक केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार 
दफा ३७ समन्वयकर्ताको काम, कर्तव्य र अधिकार 
दफा ३८ निरीक्षकको काम, कर्तव्य र अधिकार 
यस निर्देशिकालाई आयोगको Website: www.psc.gov.np मा राखिएको छ । 


लोक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा खटिएको सबै कर्मचारीहरुको परीक्षालाई सुव्यवस्थित, मर्यादित र सहज रुपमा सम्पन्न गराउनका लागि अहम् भूमिका रहेको हुन्छ । लोक सेवा आयोगको (कार्यसंचालन) निर्देशिका, २०६७ मा उल्लेख भएका विषयका अतिरिक्त परीक्षामा खटिएका कर्मचारी / जनशक्तिहरुले देहायका विषयमा विशेष ध्यान दिनुपर्दछ  :
  • आफू खटिएको परीक्षा केन्द्रमा कम्तिमा १ घण्टा अगावै पुगिसक्ने । 
  • कुन विज्ञापन नं., सेवा, समूह, उप–समूह पदनामको परीक्षा सञ्चालन हुँदैछ, परीक्षाको अवधि कति समयको हुनेछ ? उमेदवारहरुलाई परीक्षा सुरु भएको कति समय पछिसम्म  प्रवेश गर्न दिने र कति समय पछि परीक्षा भवनबाट बाहिर जान दिने लगायतका विषयमा जानकारी लिने । 
  • आफू खटिएको परीक्षा भवनमा कतिवटा केन्द्रहरु छन् ? आफ्नो परीक्षा केन्द्रमा कति रोल नं. देखि कति रोल नं. सम्मका परीक्षार्थीहरु रहेका छन् ? 
  • परीक्षाको प्रकार के हो वस्तुगत वा विषयगत ? परीक्षामा कुन कुन प्रकारको उत्तरपुस्तिकाहरु प्रयोग गरिन्छ ? ती उत्तरपुस्तिकाहरुमा विवरण भर्ने तरिका ।
  • परीक्षामा आफूले निर्वाह गर्नुपर्ने भूमिका, सो मा अस्पष्ट भएमा सोध्नुपर्ने माथिल्लो पक्ष । 
  • परीक्षार्थीहरुसँग गर्नुपर्ने व्यवहार, परीक्षामा कायम गर्नुपर्ने मर्यादा के के हुन् ? जस्तैः परीक्षार्थी अगाडि गएर परीक्षार्थीले लेखिरहेको उत्तर पुस्तिका हेर्ने, उनीहरुलाई  Signal  गर्ने   गर्नुहुँदैन । कुनै परीक्षार्थीले कुनै जिज्ञासा राखेमा आफ्नो तवरले समाधान गर्न सकिने भएमा सानो स्वरले निजले मात्र सुन्ने गरी बताइदिने ।
  • केन्द्राध्यक्षको अनुमती विना परीक्षामा प्रयोग भएमा प्रश्नपत्रहरु लिने, अरुलाई दिने गर्नुहुँदैन । परीक्षा केन्द्र / भवन / कोठामा अन्य अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिनु हुँदैन । 
  • मोवाइल खेलाउने, फोन गर्ने, एकआपसमा कुराकानी गर्ने, परीक्षार्थी बसेको सीट नजिकै गएर बस्ने लगायतका कार्यहरु गर्नुहुँदैन । 
  • उक्त परीक्षामा परीक्षा दिने व्यक्ति कोही आफ्नो नातेदार रहेछ भने त्यस्तो परीक्षामा सामेल हुनु हुँदैन । 
  • परीक्षा समाप्त भएपछि आफ्नो परीक्षा कोठामा उपस्थित उमेदवारहरुको उपस्थितिको क्रमअनुसार उत्तरपुस्तिकाहरु मिलाउने । 
  • वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिका भएमा परीक्षार्थीहरुले उत्तर खाली राखेको कोठामा धर्सो (–) लगाउने । तर Optical Mark Reader (OMR)  मेसिनबाट परीक्षण हुने   उत्तरपुस्तिकाको हकमा धर्सो लगाउनु हुँदैन ।
  • लेख्ने विषयगत उत्तरपुस्तिका भएमा परीक्षार्थीले उत्तर नलेखेको खाली पानामा धर्को तानी दिने र उत्तरपुस्तिका केन्द्राध्यक्षलाई बुझाउने । 
  • आफ्नो परीक्षा कोठामा परीक्षा दिने सबैले उपस्थिति जनाए नजनाएको, उपस्थित परीक्षार्थीको संख्या, समावेशीताको किसिम आदि एकिन गर्नुपर्दछ । 
  • परीक्षा संचालनको क्रममा तत्काल आइपर्ने प्रत्येक किसिमका समस्याहरु समाधान गर्ने तथा आफूले समाधान गर्न नसकेका विषयको हकमा केन्द्राध्यक्ष समक्ष पेश गर्ने । 


परीक्षा केन्द्रमा परीक्षामा खटिने आयोगका कर्मचारीहरु तथा आयोगले तोकेको अन्य कर्मचारी /प्रतिनिधिहरुले पालना गर्नुपर्ने जिम्मेवारीहरु झै उम्मेदवारहरुका लागि पनि केही  जिम्मेवारी रहेका छन् । बुँदागत रुपमा ति कर्तव्य / जिम्मेवारी देहाय अनुसार छन् :

  • परीक्षा केन्द्रमा जाँदा आफूले दरखास्त दिएको विज्ञापन नं., सेवा, समूह, उपसमूह तथा पद र  रोल नं.अनुसार सो केन्द्र पर्ने कुरा थप विश्वस्त हुन परीक्षा केन्द्र सम्बन्धी सूचना राम्ररी हेरी एकिन गर्ने । 
  • निर्धारित परीक्षा केन्द्रमा पुगेपछि परीक्षा भवनको मूल ढोकामा टाँस गरीएको विवरण अनुसार आफै परीक्षा हल पत्ता लगाई प्रवेश घण्टि लागेपछि कोठा नं.र स्थान अनुसार तोकिएको ठाँउमा गएर बस्ने ।
  • आफूले दरखास्त दिएको समूह (खुला तथा समावेशी) एकिन गरी आफ्नो उपस्थिति जनाउने । 
  • परीक्षामा अन्य सामग्री साथ राख्न नपाइने हुँदा छाता, झोला, पुस्तक, कापी, मोबाइल, कागजको टुक्रा आदि कक्षाकोठाको अगाडी तोकिएको स्थानमा राख्ने  
  • मोवाइल र अन्य इलेक्ट्रोनिक्स सामान कक्षा कोठामा नलैजाने । लगी हाले पनि  बन्द गरी तोकिएको स्थानमा राख्ने ।
  • उत्तरपुस्तिकामा तोकिए अनुसार सम्पूर्ण विवरण भर्ने । कुनै कुरा अस्पष्ट भएमा परीक्षा कोठामा खटिएका निरीक्षक तथा कर्मचारीलाई सोध्ने ।
  • परीक्षार्थीले पालना गर्नुपर्ने विषयवस्तुका बारेमा उत्तरपुस्तिका तथा प्रवेशपत्रमा उल्लेखित सम्पूर्ण विवरणहरु ध्यान दिएर पढ्ने । 
  • प्रश्नपत्र हातमा परेपछि प्रश्नपत्रमा उल्लेखित निर्देशनहरु सर्सती पढ्ने र सोही अनुरुप गर्ने । तोकिए अनुसार सबै प्रश्नहरु छापिएका छन्÷छैनन् एकिन गरेपछिमात्र वस्तुगत प्रश्नहरुको हकमा उत्तर पुस्तिकामा की अनिवार्य लेख्ने र विषयगत प्रश्नहरुको हकमा खण्ड भएमा खण्ड अनुसार सोही उत्तरपुस्तिकामा उत्तर लेख्ने ।
  • परीक्षामा लेख्नका लागि कालो मसी मात्र प्रयोग गर्ने । परीक्षाबाट परीक्षा शुरु भएको समयले तोकिएको अवधिसम्म वाहिर नजाने । 
  • परीक्षार्थीहरुले वस्तुगत कुनै प्रश्नको रफ गर्नुपरेमा प्रश्नमा नै गर्ने । विषयगत प्रश्नहरुको हकमा उत्तरपुस्तिकाको कुनै कुनालाई रफ प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । 
  • परीक्षा दिँदादिँदै शौचालय जानु परेमा कलम लगायतका वस्तु नलैजाने ।
  • परीक्षा सकेर जाँदा खण्ड अनुसार क्रमैसँग आफ्ना उत्तरपुस्तिकाहरु (उत्तर लेखेको तथा खाली भए सो पनि) परीक्षा कोठामा खटिएका जनशक्तिहरुलाई अनिवार्य रुपमा बुझाउने साथै बौद्धिक प्रश्नहरु तथा प्रश्नपत्रमा नै बुझाउनु पर्ने भनी उल्लेख गरिएका प्रश्नपत्रहरु अनिवार्य रुपमा उत्तरपुस्तिकासँगै फिर्ता गर्ने । 


आयोगले परीक्षाको लागि रिक्त पदहरुको माग सम्बन्धी विज्ञापन प्रकाशन गर्दा परीक्षा मिति, समय आदि उल्लेख गरी सूचना प्रकाशन गर्ने गरेको छ । निर्धारित मिति र समयमा नै परीक्षा सञ्चालन हुने व्यहोरा विदितै छ । परीक्षा समयको कम्तिमा पनि १ घण्टा अगावै आयोगका कर्मचारीहरुले परीक्षा केन्द्र मध्येको परीक्षा भवनको मूल गेट (ढोका) मा सम्बन्धित केन्द्रका उम्मेदवारहरुको नाम, समावेशी विवरण र परीक्षा दिनको लागि तोकिएको कक्षाकोठा नंं. सहितको विवरण टाँस गर्ने गर्दछन् । त्यसैले परीक्षा केन्द्रमा कम्तीमा १ घण्टा अगावै पुगेको खण्डमा परीक्षा दिनको लागि आफ्नो तोकिएको स्थान पहिल्याउन सहज हुन्छ । कथमकदाचित सो स्थानमा आफ्नो परीक्षा केन्द्र नरहेको अवस्थामा पनि अर्को स्थानमा जानलाई पनि समय रहन्छ । परीक्षा हलमा प्रवेश गर्नको लागि सामान्यतया आधा घण्टा अगाडी प्रवेश घण्टी लाग्ने गर्दछ । यसरी हल प्रवेश गरेपछि आफ्नो कोठा खोजी विना हतारमा आफ्नो विवरणहरु उत्तरपुस्तिकाहरुमा भर्न, शान्त भई बस्न र परीक्षाको बारेमा सोच्न सजिलो हुने भएकोले  कम्तीमा १ घण्टा अगाडी परीक्षा केन्द्रमा पुग्न उपयुक्त हुन्छ ।


जुनसुकै परीक्षामा पनि परीक्षार्थीहरु निर्धारित समयमा नै प्रवेश गरी आफूलाई परीक्षा दिन तयार राख्नुपर्दछ । कथंकदाचित निर्धारित समयमा परीक्षा केन्द्रमा पुग्न नसकिएको खण्डमा आयोगबाट सञ्चालन हुने परीक्षाको हकमा निर्धारित समय भन्दा देहायनुरुप समयसम्म परीक्षा हलमा प्रवेश गर्न सकिन्छ :
(क) विषयगत परीक्षा हुनेमा परीक्षा सुरु भएको तीस मिनेटसम्म
(ख) वस्तुगत परीक्षा हुनेमा परीक्षा सुरु भएको पन्ध्र मिनेटसम्म
(ख) विषयगत र वस्तुगत हुने परीक्षामा परीक्षा सुरु भएको बिस मिनेटसम्म

माथि उल्लेख भएको परीक्षा केन्द्रमा प्रवेश गर्ने अवधि व्यथित भएको दश मिनेटपछि मात्र परीक्षा छाडि जान चाहने परीक्षार्थीलाई परीक्षा भवन बाहिर जान अनुमति दिनुपर्छ । 


अपाङ्गता परिचयत्र पत्र अपाङ्गता भएकाहरुका लागि सरकारी तथा गैरसरकारी निकायद्वारा प्रदान गरिने सेवा, सुविधा, विशेष प्राथमिकता, सहुलियत, आरक्षण लगायत अन्य अवसर उपयोगका लागि प्रदान गरिने आधार हो । यसको वितरण महिला तथा बालबालिका कार्यालयहरुबाट निःशुल्क रुपमा गरिन्छ । यो प्रमाणपत्र परिचयपत्र सिफारिशका लागि जारी निर्देशिकाका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला विकास समितिको योजना अधिकृत, जिल्ला जनस्वास्थ्य अधिकृत, राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध संघसंस्थाका प्रतिनिधि वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधि, सदस्य एवं महिला विकास अधिकृत सदस्य रहने गरी पाँच सदस्यीय अपाङ्गता परिचयपत्र सिफारिश समिति रहेको हुन्छ । यस्तो समितिले परिचयपत्रका लागि पर्न आएका निवेदनहरु छानविन गरी समाजकल्याण अधिकृत समक्ष सिफारिश गर्ने गर्दछ । अपाङ्गता परिचयपत्र प्राप्त गर्न गाउँ विकास समितिहरुको सिफारिश, जन्म दर्ता वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अपाङ्गता देखिने तीन प्रति फोटो र आवश्यक परेको खण्डमा सम्बन्धित चिकित्सकको सिफारिश पेश गर्नुपर्छ ।
यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई जारी गरिने परिचयपत्र अपाङ्गताको मात्राको आधारमा गरिएको वर्गीकरणलाई मुख्य मापदण्ड बनाइ चार समूहका परिचयपत्रहरु वितरण गरिन्छ । जसमा पूर्ण अशक्त अपाङ्गताको परिचयपत्र रातो रंगमा सुनौला अक्षरले स्पष्ट हुने गरी, अति अशक्त अपाङ्गता परिचयपत्र नीलो रंगमा सुनौलो अक्षरले स्पष्ट पहिचान हुने गरी, सामान्य अपाङ्गता परिचयपत्र, मध्यम अपाङ्गता परिचयपत्र पहेंलो रंगमा नीलो अक्षरले स्पष्ट पहिचान हुने गरी र सामान्य अपाङ्गताको परिचयपत्र सेतो रंगमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिन्छ । परिचयपत्र वितरणको अनुगमन अपाङ्ग सेवा राष्ट्रिय समन्वय समितिले गर्नेछ ।
 

 अपाङ्गता परिचय पत्र कति प्रकारका हुन्छन् ? 


नेपाल सरकारले अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ अनुसार अपाङ्गता परिभाषा तथा अपाङ्गपनको निर्धारण सम्बन्धमा मापदण्ड तोकेको छ । सामान्यतया अपाङ्गतालाई शारीरिक, दृष्टिसम्बन्धी, सुनाई सम्बन्धी, श्रवण–दृष्टिविहीन, स्वर–बोलाई सम्बन्धी, मानसिक, बौद्धिक तथा बहुअपाङ्गताका रुपमा वर्गिकरण गरिएको छ । त्यस्तै अशक्तताको गाम्भिर्यताका आधारमा अपाङ्गतालाई पूर्ण, अति अशक्त, मध्यम, सामान्य अपाङ्गताका रुपमा वर्गीकरण गरेको छ । यस्तै अपाङ्गताका गाम्भिर्यताका आधारमा अपाङ्गता परीचयपत्रलाई देहाय अनुरुप वर्गिकरण गरिएको छ ।
 
क) पूर्णअशक्त अपाङ्गताः– व्यक्तिको शारीरिक वा मानसिक प्रणालीमा भएको कार्यगत विचलनका कारण अरुको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरु, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, पूर्ण रुपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरु तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्ण रुपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरुलाई “क” वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिनेछ । यस वर्गको परिचयपत्र रातो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिएको हुन्छ । 
 
ख) अतिअशक्त अपाङ्गताः– निरन्तर अरुको सहयोग लिएरमात्र दैनिक जीवन सम्पादन गर्न आवागमन गर्न सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरु, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षघात भई वा मांशपेशी विचलन भई वा मस्तिष्क पक्षघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरु, दुवै हातको पाखुरा मुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरु, दुबै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरु, पूर्ण दृष्टिविहीन व्यक्तिहरु, बहिरा व्यक्तिहरु, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरुलाई “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ । यस वर्गको परिचयपत्र निलो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिएको हुन्छ ।
 
ग) मध्यम अपाङ्गताः– कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमामात्र प्रभाव परेको, स्वतन्त्र रुपमा हिँड्डुल गर्नसक्ने शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिहरु, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरु, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरु, तीव्र भकभके व्यक्तिहरु, तीन फिटमुनिका पुड्का व्यक्तिहरु, चस्मा र श्रवणयन्त्र दुबै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरु, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरु, समूह“ग” को अपाङ्गता वर्गमा पर्दछन् । यस वर्गको परिचयपत्र पहेँलो रंगमा नीलो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिएको हुन्छ । 
 
घ) सामान्य अपाङ्गताः– शारीरिक अङ्गहरुमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाई नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरु, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरऔँला भएका, खुट्टाको औँलाका भागहरु नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरु, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाई हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु “घ” वर्गमा पर्दछन् । यस वर्गको परिचयपत्र सेतो रंगमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिएको हुन्छ ।