Blog Details

भारतीय स्वतन्त्रता सङ्ग्राम (पृष्ठभूमि, कारण, चरण ,घटनाक्रम र परिणाम)

Rajan Sir 2026-05-25 08:05:40 761 6

१. ऐतिहासिक पृष्ठभूमि (युरोपेलीहरूको आगमन र ब्रिटिश शासनको उदय)

  • भास्को डि गामाको आगमन: सन् १४९८ मा पोर्चुगिज नाविक भास्को डि गामाले भारत जाने समुद्री मार्ग पत्ता लगाएपछि पोर्चुगिजहरू सर्वप्रथम भारतीयहरूको सम्पर्कमा आए। उनीहरूले लामो समयसम्म व्यापार गरी आफ्नो कूटनीतिद्वारा केही भारतीय प्रान्तहरू कब्जा गरे।
  • युरोपेली शक्तिहरूको होडबाजी: पोर्चुगिजहरूपछि सन् १५८० मा स्पेन, सन् १६०० मा अङ्ग्रेजहरू (इष्ट इन्डिया कम्पनी), सन् १६०२ मा डचहरू (हल्यान्ड) र सन् १६६४ मा फ्रान्सेलीहरू व्यापार गर्ने उद्देश्यले भारतीय भूमिमा प्रवेश गरे।
  • पहिलो व्यापारिक केन्द्र: सन् १६०८ मा पहिलो अङ्ग्रेज पानीजहाज (हेक्टर) गुजरातको सुरत बन्दरगाहमा आइपुग्यो र उनीहरूले सुरतलाई नै आफ्नो पहिलो व्यापारिक केन्द्र (Factory) बनाए।
  • उपनिवेशको सुरुवात: यी युरोपेली मुलुकहरूबीच भारतमा व्यापारिक एकाधिकार जमाउन द्वन्द्व भइरहन्थ्यो। अन्त्यमा, अन्य सबै देशहरूलाई पन्छाउँदै अङ्ग्रेजहरूले सन् १७५७ को प्लासीको युद्ध सन् १७६४ को बक्सरको युद्धमा विजय हासिल गरे। यसपछि बेलायतले बङ्गालबाट आफ्नो राजनीतिक प्रभाव विस्तार गर्दै सम्पूर्ण भारतलाई क्रमशः आफ्नो उपनिवेश बनायो।
  • शासनको अवधि: भारतमा अङ्ग्रेजहरूको यो राजनीतिक शासन करिब १९० वर्ष (१७५७–१९४७) सम्म रह्यो। (भारतका अन्तिम हिन्दु राजा पृथ्वीराज चौहान थिए)।

 

२. परिभाषा र आन्दोलनका प्रमुख कारणहरू

अङ्ग्रेजहरूको विस्तारवादी, दमनकारी र शोषक नीतिका विरुद्ध भारतीय जनताले आफ्नो देशलाई स्वतन्त्र बनाउन गरेको ऐतिहासिक एवं सङ्गठित आन्दोलनलाई नै 'भारतीय स्वतन्त्रता सङ्ग्राम' भनिन्छ। यस महासङ्ग्रामका मुख्य कारणहरू निम्नलिखित थिए:

  • सन् १८५७ को सैनिक विद्रोह (सिपाही विद्रोह) को क्रूर दमन: यो विद्रोह अङ्ग्रेजहरूको सामाजिक, धार्मिक, आर्थिक एवं राजनीतिक दमनका कारण सिर्जना भएको सामूहिक आक्रोश थियो। विद्रोह असफल भए पनि अङ्ग्रेजहरूले गरेको क्रूर दमन (सयौँलाई मृत्युदण्ड र तोपको गोलाले उडाइदिएको घटना) ले भारतीयहरूमा अङ्ग्रेजविरुद्ध लड्ने दृढ निश्चय पैदा गर्‍यो।
    • विशेष मोड: यसै घटनापछि भारतमा इष्ट इन्डिया कम्पनीको शासन समाप्त भयो र शासनको जिम्मेवारी सिधै बेलायती सम्राट (ब्रिटिश क्राउन) मा सरेर 'गभर्नर जनरल' को सट्टा 'भायसराय' पदको सिर्जना भयो। (पहिलो भायसराय वारेन हेस्टिङ्स थिए भने सन् १८१४ मा नेपालविरुद्ध युद्ध घोषणा गर्ने गभर्नर जनरल लर्ड हेस्टिङ्स थिए। यस्तै, सन् १८५७ को विद्रोहमा नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले ब्रिटिश सरकारलाई सहयोग गरेका थिए)।
  • सामाजिक-धार्मिक आन्दोलन र पुनर्जागरण: भारतीय समाजमा चेतना फैलाउन र राष्ट्रियताको भावना जगाउन विभिन्न संस्थाहरू स्थापना भए:
    • ब्रह्म समाज: २० अगस्ट १८२८ मा राजा राममोहन रायद्वारा स्थापित।
    • आर्य समाज: सन् १८७५ मा स्वामी दयानन्द सरस्वतीद्वारा स्थापित।
    • प्रार्थना समाज: ३१ मार्च १८६७ मा डा. आत्माराम पाण्डुरङ्गद्वारा स्थापित।
    • थियोसोफिकल समाज: १७ नोभेम्बर १८७५ मा म्याडम ब्लाभ्याट्स्की र हेनरी स्टील ओल्कटद्वारा न्यूयोर्कमा स्थापित (सन् १८८२ मा यसको अन्तर्राष्ट्रिय मुख्यालय भारतको अड्यारमा सारियो)।
    • रामकृष्ण मिसन: १ मे १८९७ मा स्वामी विवेकानन्दद्वारा स्थापित।
    • मुसलमान समाजसुधार आन्दोलन: सर सयद अहमद खानद्वारा सञ्चालित (अलिगढ आन्दोलन)।
  • अङ्ग्रेज शासकहरूको प्रतिक्रियावादी नीति: लर्ड लिटन (Lord Lytton) ले सन् १८७८ मा भारतीयहरूलाई हतियार राख्न प्रतिबन्ध लगाउने 'आर्म्स एक्ट' र स्थानीय पत्रपत्रिकामाथि कडा सेन्सरसिप लगाउने 'भर्नाकुलर प्रेस एक्ट' पारित गरे। त्यस्तै, लर्ड कर्जनले सन् १९०४ मा उच्च सरकारी पदहरूमा केवल अङ्ग्रेजहरूलाई मात्र नियुक्ति गर्ने विभेदकारी नीति पुनः लागू गरे। (यसको विपरीत, स्थानीय स्वायत्त शासनको विकासमा जोड दिने भायसराय लर्ड रिपनलाई 'स्थानीय स्वायत्त शासनका जनक' भनिन्छ भने सबैभन्दा निरङ्कुश लर्ड डलहौजीलाई मानिन्छ)।
  • पाश्चात्य शिक्षा र पत्रपत्रिकाको भूमिका: लर्ड म्याकालेको प्रयासमा भारतमा अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन सुरु गरियो। अङ्ग्रेजी शिक्षाका माध्यमबाट भारतीयहरू पश्चिमी स्वतन्त्रता, समानता र प्रजातान्त्रिक भावनासँग परिचित भए। 'अमृत बजार पत्रिका', 'द ट्रिब्युन', 'द पायोनियर' जस्ता पत्रपत्रिकाहरूले राष्ट्रिय जागरणमा मद्दत पुर्‍याए।
  • आर्थिक शोषण र पक्षपात: अङ्ग्रेजहरूले भारतीय उद्योगहरू (विशेष गरी कपडा उद्योग) र कृषिमा कडा कर लगाई आर्थिक शोषण गरे तथा सरकारी सेवामा भारतीयहरूमाथि चरम जातीय भेदभाव र पक्षपात गरे।

 

३. भारतीय स्वतन्त्रता सङ्ग्रामका चरणहरू

२८ डिसेम्बर १८८५ मा अवकाशप्राप्त ब्रिटिश कर्मचारी एलेन अक्टेभियन ह्युम (A. O. Hume) को सहयोगमा भारतीय राष्ट्रिय काङ्ग्रेस (Indian National Congress) को स्थापना भयो। यहाँबाट स्वतन्त्रता सङ्ग्राम सङ्गठित रूपमा सुरु भई कुल ६२ वर्षसम्म चल्यो। यसको इतिहासलाई मुख्य ३ चरणमा विभाजन गरेर हेरिन्छ:

  • पहिलो चरण (सन् १८८५–१९०५) - उदारवादी युग (Moderate Phase): यस कालका प्रमुख नेताहरू दादाभाई नौरोजी, उमेशचन्द्र बनर्जी, र फिरोजशाह मेहता आदि थिए। उनीहरू शान्तिपूर्ण, संवैधानिक र क्रमिक सुधारको माग गर्थे।
  • दोस्रो चरण (सन् १९०५–१९१९) - उग्रवादी युग (Extremist Phase): यस चरणमा ब्रिटिश सरकारको नीतिको कडा विरोध गरियो। "स्वराज हाम्रो जन्मसिद्ध अधिकार हो र त्यसलाई प्राप्त गर्नु नै काङ्ग्रेसको लक्ष्य हो" भन्ने बाल गङ्गाधर तिलक यस गुटका प्रमुख नेता थिए। यस समूहका शीर्ष तीन नेताहरूलाई 'लाल-बाल-पाल' (लाला लाजपत राय, बाल गङ्गाधर तिलक, र विपिन चन्द्र पाल) भनिन्थ्यो।
  • तेस्रो चरण (सन् १९१९–१९४७) - गान्धी युग (Gandhian Era): भारतको राजनीति र स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धीको पूर्ण नियन्त्रण र अहिंसात्मक आन्दोलनको प्रभाव रहेको अवधि।

४. प्रमुख घटनाक्रमहरू (क्रान्तिकारी आन्दोलन र मोडहरू)

  • जलियावाला बाग हत्याकाण्ड (१३ अप्रिल १९१९): अमृतसरको जलियावाला बागमा रोलेट एक्ट (क्रान्तिकारीहरूलाई बिना मुद्दा थुन्न पाउने कालो कानून) को विरोधमा निशस्त्र सभा गरिरहेका जनसमूहमाथि ब्रिटिश जनरल डायरको आदेशमा अन्धाधुन्ध गोली चलाउँदा सयौँ मानिसको ज्यान गयो। यस वीभत्स हत्याकाण्डको विरोधमा भारतीय विद्वान रविन्द्रनाथ टैगोरले ब्रिटिश सरकारले दिएको 'सर' (Sir/Knighthood) उपाधि त्यागे।
  • खिलाफत आन्दोलन (सन् १९१९): प्रथम विश्वयुद्धपछि मुस्लिमका खलिफा (टर्कीका सुल्तान) माथि ब्रिटिश सरकारले गरेको अपमानको विरुद्धमा भारतीय मुस्लिमहरूले चलाएको आन्दोलन। २४ नोभेम्बर १९१९ मा दिल्लीमा भएको अखिल भारतीय खिलाफत सम्मेलनको अध्यक्षता महात्मा गान्धीले गरेका थिए।
  • असहयोग र चर्खा आन्दोलन (सन् १९२०): महात्मा गान्धीको नेतृत्वमा सुरु भएको यस आन्दोलनको मुख्य उद्देश्य बेलायती कपडा उद्योग र आयातलाई धराशायी बनाई स्वदेशी उत्पादनलाई बढावा दिनु थियो। यसै क्रममा गान्धी १० मार्च १९२२ मा पहिलो पटक भारतमा पक्राउ परे।
  • सविनय अवज्ञा आन्दोलन (सन् १९३०): ब्रिटिश सरकारको नुन ऐन (Salt Act) को विरोधमा गान्धीजीले १२ मार्च १९३0 मा अहमदाबाद (साबरमती आश्रम) देखि गुजरातको दान्डीसम्म करिब ४०० किलोमिटरको ऐतिहासिक पैदल यात्रा (नुन सत्याग्रह) गरे। यो आन्दोलन विभिन्न उतारचढावका बीच सन् १९३४ सम्म चल्यो। (यसअघि ५ मार्च १९३१ मा गान्धी–इरविन सम्झौता भएको थियो)।
  • भारत छोडो आन्दोलन: ८ अगस्ट १९४२ मा अङ्ग्रेजहरूलाई भारत छोड्न आह्वान गर्दै यो आन्दोलन सुरु भयो। ९ अगस्टको बिहानै गान्धी लगायत काङ्ग्रेसका शीर्ष नेताहरू पक्राउ परे। यसै आन्दोलनमा गान्धीले "करो या मरो" (Do or Die) को नारा दिएका थिए। आगा खाँ प्यालेस (जेल) मा बन्दी बनाइएका गान्धीले १० फेब्रुअरी १९४३ देखि २१ दिनसम्मको आमरण अनसन गरेपछि ब्रिटिश सरकार उनलाई रिहा गर्न बाध्य भयो।
  • आजाद हिन्द फौज: जापानद्वारा युद्धबन्दी बनाइएका भारतीय सैनिकहरूलाई सङ्गठित गरी सन् १९४२ मा क्याप्टेन मोहन सिंह र रासबिहारी बोसले यसको गठन गरेका थिए, जसलाई जापानले हातहतियार सहयोग गरेको थियो। पछि सन् १९४३ मा सुभाषचन्द्र बोसले यसको कमान्ड सम्हालेर यसलाई निर्णायक मोड दिए।
  • अन्तरिम सरकार र विभाजनको रेखा: भारतीय आन्दोलनलाई साम्य पार्न अङ्ग्रेजले अन्तरिम सरकार गठनको प्रस्ताव गरेपछि २ सेप्टेम्बर १९४६ मा जवाहरलाल नेहरूको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। यसअघि जुलाईमा भएको संविधान सभा निर्वाचनमा काङ्ग्रेसले २१४ र मुस्लिम लिगले ७३ स्थान जितेको थियो। परिणामबाट असन्तुष्ट मुस्लिम लिगले १६ अगस्ट १९४६ लाई 'प्रत्यक्ष कारबाही दिवस' घोषणा गरी आन्दोलन गर्दा देशमा भीषण हिन्दु-मुस्लिम साम्प्रदायिक झडप भयो।
  • माउन्टब्याटेन योजना र विभाजन: परिस्थिति नियन्त्रण बाहिर गएपछि २० फेब्रुअरी १९४७ मा ब्रिटिश प्र.म. क्लेमेन्ट एट्लीले भारतलाई सत्ता सुम्पने घोषणा गरे। लर्ड माउन्टब्याटेनले अघि सारेको 'माउन्टब्याटेन योजना (३ जुन १९४७)' का आधारमा बेलायती संसद्ले १८ जुलाई १९४७ मा 'भारतीय स्वतन्त्रता विधेयक' पारित गर्‍यो। गान्धीजीले दृढताका साथ "Division will be on my dead body" (मेरो मृत शरीरमा नै भारतको विभाजन हुनेछ) भने तापनि अन्ततः १४ अगस्ट १९४७ मा मोहम्मद अली जिन्नाको नेतृत्वमा पाकिस्तान अलग राष्ट्र बन्यो।

 

५. आन्दोलनका परिणामहरू र महत्त्वपूर्ण उपलब्धिहरू

  • स्वतन्त्रता र औपनिवेशिक अन्त: १५ अगस्ट १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट पूर्ण रूपमा स्वतन्त्र भयो र भारतीय उपमहाद्वीपबाट ब्रिटिश उपनिवेशको अन्त्य भयो।
  • गणतन्त्रको स्थापना: २६ जनवरी १९५० मा नयाँ संविधान लागू भएसँगै भारत पूर्ण लोकतान्त्रिक गणतन्त्र घोषित भयो। (यसै दिनको सम्झनामा भारतमा हरेक वर्ष गणतन्त्र दिवस मनाइन्छ)।
  • प्रथम पदाधिकारीहरू: स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद बने। (यी दुवै नेता नेपाल भ्रमण गर्ने पहिलो विदेशी प्रधानमन्त्री र राष्ट्रपति पनि हुन्)। भारतका प्रथम उपराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन बने।
  • गान्धीको हत्या र अहिंसाको सन्देश: 0 जनवरी १९४८ मा नाथुराम गोडसेले महात्मा गान्धीको गोली हानी हत्या गरे। संयुक्त राष्ट्रसंघले गान्धीको जन्मजयन्ती (अक्टोबर २) लाई 'अन्तर्राष्ट्रिय अहिंसा दिवस' का रूपमा मनाउँछ।
  • नेपालको सन्दर्भ: यस आन्दोलनको समयमा नेपालमा राणा शासन थियो र प्रधानमन्त्री जुद्ध शम्शेर थिए। नेपालले ब्रिटिश सरकारलाई विभिन्न युद्ध र आन्दोलन दबाउन सैन्य सहयोग गरेको थियो।
  • महिला नेतृत्वको उदय (ऐतिहासिक निरन्तरता): स्वतन्त्रतापछि भारतको लोकतान्त्रिक विकास बलियो हुँदै जाँदा देशले पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल (१२ औं राष्ट्रपति) र पहिलो महिला सभामुख (लोकसभा अध्यक्ष) मीरा कुमारलाई पायो।

Leave Your Comment

0 Comment
Latest Blogs

विविध सामान्य ज्ञान

Published: 2026-05-05
By: Sita Pokharel

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team